Pages

Monday, May 18, 2015

नयाँ आशा - भूकम्प पीडितका लागि tfcNepal को सहयोग प्रयास


२०७२ वैसाख १२ गते मध्यान्ह ११:५६ बजे !

नेपाल ठूलो बिपत्तिको शिकार भयो। सबैले अनुमान गरेको तर कहिले आउला भनेर भन्न नसकिएको ‘ठूलो भूकम्प’ले काठमाडौं उपत्यकाका तीन जिल्ला सहित ११ जिल्ला हल्लायो। लगभग ५८ सेकेन्ड कम्पन हुँदा उपत्यका लगायत देशको मध्यपुर्वी भागका जिल्लामा जन, धन, सम्पदा र मनहरु तहसनहस भए।

आजसम्म प्राप्त जानकारी अनुसार शनिबारको भूकम्प र त्यसपछि आएका २ सय ३५ भन्दा परकम्पबाट साढे ८ हजार भन्दा बढीले ज्यान गुमाएका छन् भने २७ हजारभन्दा बढी घाइते भएका छन्। ध्वस्त भएका नीजि,व्यवसायिक, सरकारी तथा सांस्कृतिक सम्पदाको विनाशको तथ्याङ्क आउने क्रम जारी नै छ।
NepalQuake Victims in Sindhupalchok
कम्पन र परकम्पबाट क्षतविक्षत देशका विभिन्न भूभागमा तत्काल उद्दार र राहतको आवश्यकता थियो। भूकम्पको प्रकोपपछि सरकारका साथमा स्थानीय जनता जागरुक भएर आफ्नो आफ्नो स्थानबाट आफूले सक्ने ठाउँमा उद्दार र राहतमा जुटे। उद्दार तथा राहत कार्यमा देशका तीनैवटा सुरक्षा निकायहरु नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरीले आफ्ना सिमित स्रोत र साधनका बाबजुद प्रभावित क्षेत्रमा खटेर अनवरत सेवा गरे। सरकारी निकायका कर्मचारीहरु, गैरसरकारी संस्थाहरु लगायत विदेशी समुदाय तथा व्यक्तिगत तवरबाट देशभित्रै यो पीडामा मलम लगाउन सबैले योगदान गरेका छन्।

यो समयमा एउटा वर्ग अभूतपुर्ब रुपमा अगाडि आयो, स्वत:स्फुर्त र बिना कुनै सन्देह: त्यो हो युवावर्ग।

NepalQuake Victims in Nuwakot
देश तथा विदेशमा रहेका युवाहरुले देशमाथि आइपरेको यो विपत्तिको सामना गर्न आफुले सक्दो मेहेनत गरे। युवा समुदायले देशमा राहत, उद्दार लगायत सरसफाइ, रगत संकलन, सांस्कृतिक सम्पदाको संरक्षण लगायतका कार्य उत्साहपुर्वक गरेनन् मात्र, संसारका विभिन्न भागबाट देशको यो विपत्तीको समयमा सघाउन ओइरिएर आए पनि। त्यति मात्र नभइ देशमा आउन नभ्याउने युवा समुदायले राहत संकलन गर्ने, देशमा पुर्‍याउने तथा देशमा चलिरहेका अभियानहरुलाई सघाउने काममा समेत सशक्त रुपमा अघि सरे।

ट्विटरमा सक्रिय युवाहरुको समुह ट्विट फर कज नेपाल (tfcNepal) पनि यो महाविपत्तिको समयमा चुप बस्न सकेन। बच्चाहरुको मुहारमा खुशी ल्याउने मूल उदेश्य बोकेको यो ‘लुज ग्रुप’ले पनि देशको महाविपत्तिमा चुपचाप बस्नु उचित ठानेन।

Relief Materials in Sindhupalchok
लूज ग्रुप’ भएकोले यो संगठित हुनका लागि पनि समय लाग्यो। शुरुको हप्ता TFC का साथीहरु व्यक्तिगत रुपमै आफ्ना आफ्ना कार्यक्षेत्रमा रहेर उद्दार र राहतमा खटिरहे। आफू आफू एकतिर कुद्दाभन्दा सामुहिक रुपमा काम गरौं भन्ने सोच्न र सबै जम्मा हुन पनि समय लाग्यो। त्यसैपनि TFC का साथीहरु आफै पनि पीडामा थिए। 

भूकम्पका परकम्प आउने क्रम एकातिर रोकिएको थिएन भने अर्कातिर TFC जस्तो समुह पनि सामूहिक रुपमा उद्दार र राहतमा खटिनुपर्छ भन्ने सुझावहरु पनि आउन थाले। काठमाडौंमा उपलब्ध केही साथीहरुको भेटघाट र छलफलले राहतमा जुट्नेमा सहमति जनायो। त्यसपछि TFC नेपाल भूकम्प पीडितहरुका लागि राहत संकलन र वितरणमा संलग्न भयो।

Victims gathered for Relief Materials in Sindhupalchok
त्यसयताका दिनहरुमा TFCNepalमार्फत् ७ वटा जिल्लाका सय ११ भन्दा बढी परिवारलाई त्रिपाल तथा खाद्यान्न समेतका राहत सामग्री वितरण तथा सहजीकरण गरेको छ। TFCNepalपुगेका भूकम्प प्रभावित स्थानहरुमा नुवाकोटको जिलिङ गाविसका ७, ८ र ९ वडाका  १३५ घर परिवार, नुवाकोटकै थान्सिङ गाविसका १० घर परिवार, रसुवाको भोर्ले गाविसको वडा नम्बर २ का १४९ घर परिवार, सिन्धुपाल्चोकको सुनखानी गाविसका ५, , , ८ वडा र सुकुटे गाविसको १ नम्बर वडाका १४० घर परिवार, सिन्धुपाल्चोककै फुल्पिङ डाँडाका ४० घरपरिवार,काभ्रेको महेन्द्रज्योति गाविसका १६० घर परिवार, गोर्खाको सौरपानी गाविसका वडा नम्बर ७, ८ र ९ का १२० घर परिवार, संखुवासभाका २० घर परिवार, धादिङ-नौबिसे गाविस निगालेका १२ घर परिवार, काठमाडौंको गोलढुँगा गाविसका ८ घर परिवार, दोलखाका १२० घर र अन्य छिटपुट ८ स्थान रहेका छन्। यी मध्ये सिन्धुपाल्चोकको सुनखानी, दोलखा, नुवाकोटको जिलिङ र रसुवाको भोर्ले गाविसमा TFCNepalकै साथीहरु पुगेर राहत वितरण गरेका छन्। बाँकी ठाउँहरुका लागि सहजीकरण गरिएको छ।

TFCNepalले भूकम्प प्रभावित क्षेत्रहरुमा टेन्ट, त्रिपाल, च्युरा, चाउचाउ, सरससफाइका सामानहरु, बिस्कुट,स्यानिटरी प्याकेट वितरण गरिएको छ भने केही ठाउँमा ब्ल्यांकेट, म्याट्रेस, स्वेटर तथा कपडाहरु समेत पुर्‍याइएको छ। TFCNepalले राहत वितरणको कार्यलाई अहिले पनि निरन्तरता दिइरहेको छ।
Happy Face : A girl in Nuwakot after receiving relief Materials
tfcNepalले अर्को चरणमा दोलखा र ओखलढुंगाका केही गाविसको समन्वयमा ती जिल्लाका प्रभावित क्षेत्रमा राहत पुर्‍याउने तयारी गरेको छ।  TFCले राहत वितरण कार्य पुरा गरेपछि सबै सामाग्री र नगदको बील भर्पाई सहित ब्लगमा अपडेट गर्नेछ। हामीलाई प्राप्त सहयोग रकम नगद र जिन्सी गरी २० लाख भन्दा बढीको भएको छ र हामीले त्यो हरेक पैसालाई भूकम्पका वास्तविक पीडितसम्मै पुर्‍याउन हरसम्भव प्रयास गरेका छौं।

राहत वितरण कार्य सजिलो थिएन। त्यसैपनि TFCNepalमा आबद्ध साथीहरुका आफ्ना कार्यक्षेत्र छन्। स्वयंसेवी समूह भएकोले यसका ‘फूल टाइम’ सदस्य छैनन्, न त यो कुनै प्रशासनिक कार्यालय खोलेर नै चलेको समूह हो। त्यसैले पनि साथीहरु जुट्न नै समय लाग्ने समस्या सँधै रहने गर्छ। तैपनि यसका विभिन्न स्थानमा रहेका स्वयंसेवीहरुले आफ्नो ठाउँबाट सक्दो मेहनत गरेका छन्।

Relief Materials being distributed in Rasuwa
 नेपालगंजदेखि पाल, नवलपरासीबाट च्युरा ल्याउने कार्य मात्र होइन फिल्डमा गएर बाँड्ने काम पनि एकदमै अप्ठेरोथियो। TFCNepalले आफुले राहत बाँड्न गएका हरेक क्षेत्रमा जाँदा सरकारी टोलीसँगको समन्वय र सहयोग लिएको छ। जति ठाउँमा राहत सामाग्री पुगेको छ त्यहाँको प्रशासनलाई जानकारी दिएर र अनुमति लिएर गरिएको छ। राहत वितरण गरिएका ठाउँमा पीडितहरुकै हातसम्म राहत पुर्‍याइएको छ।गएका स्थानहरुमा सकेसम्म सरकारी प्रतिनिधिलाई सामेल गर्ने, एक परिवारलाई एक पटकमात्रै लिने व्यवस्था मिलाउने र सही पीडितले पाउने व्यवस्था गर्ने यथासक्य प्रयास गरिएको छ।

हामीलाई विदेशबाट सहयोग गर्नुहुने साथीहरुको निस्वार्थ सहयोग बिना यो कार्य सम्भव थिएन।विभिन्न देशबाट प्राप्त रकमको पूर्ण विवरण गुगल डकुमेन्टमा राखेर हामी वेबसाइटमै अपलोड गर्नेछौं। आफुले सक्दो सामाग्री दिएर सहयोग गर्ने, फिल्डमा समन्वय गर्ने लगायत सानाठुला सबै सहयोग गर्ने स्वयंसेवी साथीहरुTFCNepalका सम्पत्ति हुन्। कार्यालयमा बिदा लिएरै तथा परिवारलाई छोडेर समेत सँगसँगै सामान बोक्ने, बाँड्ने र व्यवस्थापन गर्ने कार्यमा हिंड्नुहुने साथीहरु पनि छुटाउनै नहुने सदस्यहरु हुन्।

Rasuwa
TFCNepalले अहिलेसम्म कायम राखेको विश्वास नगुमाउन हरसम्भव मेहनत गरिएको छ। यस समुहप्रतिको विश्वासले आफूले सकेको सहयोग गरेर यो विपत्तिमा हामीलाई सहयोग गर्नुहुने सबैजना हाम्रा अमूल्य निधि हुनुहुन्छ। TFCNepalप्रति सबै सहयोगीको विश्वासलाई कायम राख्दै एकएक पैसा र सामाग्रीको हिसाब किताब सार्वजनिक गर्ने प्रतिबद्धता जाहेर गर्दछ।

Rasuwa
हामीले अब काठमाडौं उपत्यकामै रहेका र भूकम्पको पीडामा परेका अनाथाश्रमहरुमा पनि सहयोग गर्न शुरु गरेका छौं। केही खाद्यान्न र अन्य सामान लिएर मङ्गलबारनै भूकम्पमा भवन गुमाएको किर्तिपुरको सफलता एचआइभी शिक्षा सदन पुग्नेछौं। राहतको कार्य सम्पन्न भइसकेपछि TFCNepalसबै स्वयंसेवीहरुको सल्लाहमा दीर्घकालिन पुनर्स्थापनाका कामहरु पनि गर्ने सोचमा छ। आउने दिनमा पनि ट्विटरमा सक्रिय यो समुहका काममा सबैको साथ र सहयोगको अपेक्षा गर्दछौं।

A NepalQuake Victim at Nuwakot.
भूकम्पबाट प्रभावितहरुका लागि आउने दिनमा गरिने सहयोगको जानकारी यही ब्लगमार्फत अपडेट गरिनेछ।

ह्याप्पी ट्विटिङ !!

Update 8th July 2015:
लगभग ८ जिल्लाका ९०० भन्दा बढी घरधुरीका भूकम्पपीडितहरुलाई हामीले सकेको सहयोग गरेर @tfcNepal को भूकम्प पीडित तत्काल राहत कार्यक्रम सकिएको छ । अब हामी "Rebuild School, Rebuild Nepal" अभियान अन्तर्गत स्कुल निर्माणमा जुट्नेछौं !
भूकम्प पीडित सहायता कार्यक्रममा हामीलाई बिभिन्न देशका TFCian हरुबाट २३८७७२३ रुपैयाँ प्राप्त भएको थियो । जस्मध्ये ८ जिल्लाको राहत वितरण कार्यमा २३६७३३४ रुपैयाँ खर्च भएको छ । जस्बाट बचेँको रु २१२८९ स्कुल पुनर्निर्माण कार्यमा प्रयोग गरिनेछ ।
सदाझैं संसारभर रहनुभएका TFCian हरुको माया र सद्भावले सानो भए पनि तत्काल राहत कार्यमा हामीले योगदान गर्न सकेका छौं । तपाईंले आफ्नो गाँस काटेर गर्नुभएको सहयोगको लागि TFCNepal सदैव ऋणी रहनेछ । हामीलाई आशा पनि थिएन हाम्रो अभियानमा यस्तो अपुर्व सहयोग होला भन्ने । TFCNepal तपाईं हामी सबैको साझा हो, र आगामी दिनमा पनि यस्तै माया ममता र जागरुकताको हामी अपेक्षा गर्दछौं ।

तपाईंहरु सबैजनालाई धेरै धन्यवाद । हामी मिलेर जागरुक नेपालीको यो अभियानलाई अझै उचाइमा पुर्याउनेछौं ।
हाम्रो यो Earthquake Insant Relief Programme  को सम्पुर्ण खर्च बिबरण यो गुगल डक्स मा छ

धन्यबाद । 

No comments:

Post a Comment