Pages

Monday, May 18, 2015

नयाँ आशा - भूकम्प पीडितका लागि tfcNepal को सहयोग प्रयास


२०७२ वैसाख १२ गते मध्यान्ह ११:५६ बजे !

नेपाल ठूलो बिपत्तिको शिकार भयो। सबैले अनुमान गरेको तर कहिले आउला भनेर भन्न नसकिएको ‘ठूलो भूकम्प’ले काठमाडौं उपत्यकाका तीन जिल्ला सहित ११ जिल्ला हल्लायो। लगभग ५८ सेकेन्ड कम्पन हुँदा उपत्यका लगायत देशको मध्यपुर्वी भागका जिल्लामा जन, धन, सम्पदा र मनहरु तहसनहस भए।

आजसम्म प्राप्त जानकारी अनुसार शनिबारको भूकम्प र त्यसपछि आएका २ सय ३५ भन्दा परकम्पबाट साढे ८ हजार भन्दा बढीले ज्यान गुमाएका छन् भने २७ हजारभन्दा बढी घाइते भएका छन्। ध्वस्त भएका नीजि,व्यवसायिक, सरकारी तथा सांस्कृतिक सम्पदाको विनाशको तथ्याङ्क आउने क्रम जारी नै छ।
NepalQuake Victims in Sindhupalchok
कम्पन र परकम्पबाट क्षतविक्षत देशका विभिन्न भूभागमा तत्काल उद्दार र राहतको आवश्यकता थियो। भूकम्पको प्रकोपपछि सरकारका साथमा स्थानीय जनता जागरुक भएर आफ्नो आफ्नो स्थानबाट आफूले सक्ने ठाउँमा उद्दार र राहतमा जुटे। उद्दार तथा राहत कार्यमा देशका तीनैवटा सुरक्षा निकायहरु नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरीले आफ्ना सिमित स्रोत र साधनका बाबजुद प्रभावित क्षेत्रमा खटेर अनवरत सेवा गरे। सरकारी निकायका कर्मचारीहरु, गैरसरकारी संस्थाहरु लगायत विदेशी समुदाय तथा व्यक्तिगत तवरबाट देशभित्रै यो पीडामा मलम लगाउन सबैले योगदान गरेका छन्।